Monday, June 6, 2016
विद्यावारिधि दृष्टिविहीन 'अरूले तैंले सक्दैनस् भन्दा झनै इख पलाउँदो रैछ' - जनकराज सापकोटा, काठमाडौं
जेष्ठ २४, २०७३- रिसाउँदा मान्छेको अनुहारको रङ कस्तो हुन्छ ? खुसी हुँदा कस्तो हुन्छ ? अनि छटपटीका बेला कस्तो हुन्छ ? मौसमजस्तै बदलिरहने मान्छेको अनुहारका बारेमा चितवन भरतपुरकी लक्ष्मी पोख्रेललाई सोध्नु अर्धम हुन्छ । स्कुल पढाताक उनलाई कसैले यही प्रश्न सोधेको भए उनी भन्ने थिइन्, मान्छेको अनुहार कसरी संवेग, आवेग र अनुभूतिसँगै बदलिन्छ भनेर । किनकि स्कुल पढ्दासम्म लक्ष्मीको दृष्टि पुरै गुमिसकेको थिएन । उनी अक्षरसम्म चिन्थिन् ।
त्यतिबेला उनका निम्ति साँझ छिटो ढल्किन्थ्यो । अरू साथीहरू गाढा साँझसम्मै खेलिरहँदा उनी छामछाम छुमछुम गर्नुपर्ने अवस्थामा पुगिसक्थिन् । तैपनि लक्ष्मीलाई थाह थिएन, मेरा निम्ति रात किन छिटो पर्छ ? उनका बाआमाले पनि उनको कमजोर दृष्टिको समस्या बुझेका थिएनन् । कालो पाटीमा सरले लेखेका अक्षर उनी देख्दिनथिन् । नसारेको आरोपमा सरले उनका टाउकोमा लठ्ठी बजार्थे । सबै जना हाँसेपछि लक्ष्मी संकोचले निहुरीमुन्टी पर्थिन् ।
जन्मेदेखि नै लक्ष्मीको आँखामा दृष्टि कमजोर थियो । ५ कक्षा पुगेपछि मात्रै उनले थाह पाइन्, मेरो आँखामा समस्या छ, अर्थात् 'लो भिजन' छ । सात कक्षामा पुग्दा मात्रै उनका अभिभावकले थाह पाए, छोरीको आँखामा समस्या छ । आमाको हात पक्रेर काठमाडौंको तिलगंगा आँखा अस्पताल आएपछि उनले थाहा पाइन्, आँखाको रेटिनामा समस्या रहेछ । डाक्टरले भने, 'यस्तो समस्याको उपचार सम्भव छैन । उमेरको वृद्धिसँगै दृष्टि झनै कमजोर हुँदैन जान्छ ।' नभन्दै भयो पनि त्यस्तै, प्रत्येक कक्षाको सिँढी उक्लेसँगै लक्ष्मीलाई आभास हुन्थ्यो, आँखाको दृष्टि पनि क्रमशः कमजोर हुँदैछ । एसएलसी पास गर्दा लक्ष्मीको दृष्टि अक्षर नै चिन्न नसक्ने गरी कमजोर भइसकेकेा थियो ।
आँखा नदेख्ने भए पनि लक्ष्मीको आत्मविश्वासको पारो एसएलसीपछि झनै बढेको थियो । अक्षर नचिने पनि उनी लेख्न सक्थिन् । घुर्मैलो दृश्यका भरमा छामछाम छुमछुम गर्दै उनले आफूलाई अगाडि बढाइन् । अरूले पढेको/सुनेको भरमा, अरूले पढेर सुनाइदिएको भरमा उनले पढाइलाई अघि बढाइन् । स्नातक पढेपछि काठमाडौं अाइन्, मामाको घर बसेर त्रिभुवन विश्वविद्यालय केन्द्रीय विभागबाट इतिहासमा स्नातकोत्तर गरिन् । त्यसपछि उनी चितवन आइन् । शैक्षिक उपाधि र आत्मविश्वासका भरमा भरतपुरको वीरेन्द्र क्याम्पसमा पढाउने काम पाइन् ।
एउटी महिलाका रूपमा लक्ष्मीले भोगेको संघर्ष आम नेपाली महिलाले भोगेको भन्दा कम छैन । एउटा दृष्टिविहीन महिलाका रूपमा पनि लक्ष्मीले खेपेको संघर्ष पनि उति सारो फरक छैन । तर यी सबै दुःख र उकाली ओरालीका बाबजुत पढाइप्रतिको उनको लगाब अरूभन्दा भिन्न मात्रै छैन, विशिष्ट पनि छ । लक्ष्मीलाई लाग्यो, पढाइको उपल्लो सिँढी नचढेसम्म केही गर्न सकिन्न । केही साताअघि मात्रै काठमाडौंमा राष्ट्रिय नेत्रहीन संघबाट सम्मानित भएकी उनले सुनाइन्, 'अरूले तैंले सक्दैनस् भन्दा आफूलाई झनै इख पलाउँदो रैछ ।' त्यही इखले लक्ष्मीलाई विद्यावारिधि गर्न हौस्यायो । विद्यावारिधिका निम्ति फारम भर्न त्रिवि आउँदा लक्ष्मीको आत्मविश्वासको शान्त तलाउमा धेरैले ढुंगा हानेका थिए । लक्ष्मीले ती प्रतिक्रिया संश्लेषण गर्दै सुनाइन्, 'एउटाले भन्यो, कस्ता कस्ताले त सकेनन् । तपाईं झन् के सक्नुहोला ?' अर्का एकले भने, 'पीएचडी गर्दा त किताबको किरो बन्नुपर्छ भएको थोरै भिजन पनि किन सक्नुहुन्छ ?' लक्ष्मीले कसैको कुरा सुनिनन् । जसरी पनि विद्यावारिधि गरिछाडछु भन्ने अठोटले उनलाई दरिलो गरी उभ्यायो ।
यसरी आत्मविश्वासले सुरु भएको उनको विद्यावारिधिको यात्रा ५ वर्ष ६ महिनासम्म चल्यो । २०७१ भदौ २९ गते उनले त्रिभुवन विश्वविद्यालयबाट 'देवघाट धामको ऐतिहासिक तथा धार्मिक महत्त्व' शीर्षकमा विद्यावारिधि सकेको प्रमाणपत्र हात पारिन् । यसरी लक्ष्मी त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधि गर्ने पहिलो दृष्टिविहीन महिला बनिन् । यो बीचमा लक्ष्मीले गरेको संघर्षको व्याख्या थोरै शब्दमा गर्न सकिन्न । ब्रेल लिपि नजान्ने र किताबको अक्षर पढ्न नसक्ने । यी दुई समस्याको चेपबाट पनि उनले अध्ययनलाई जारी राखिन् । अरूका आमाहरू छोरीलाई पढाउँछन् । तर उनका छोरीहरू भने आमालाई किताब पढेर सुनाउँथे । लक्ष्मी ध्यान मुद्रामा छोरीहरूले पढेको सुन्थिन् । बेलाबेलामा त उनले किताब पढेर सुनाइदिने र अनुसन्धानका लागि मान्छे भेट्न सहजीकरण गरिदिनका लागि मासिक तलब दिएर सहयोगी नै पनि राखिन् । भनिन्, 'सहयोगीले किताब नपढिदिएको भए, मान्छे भेट्न नसघाइदिएको भए कहाँ सकिन्थ्यो र ?'
विद्यावारिधिको दौरान लक्ष्मी चितवनदेखि काठमाडौं कति पटक धाइन हिसाब गरेर के साद्धे ? यो यात्रामा उनी कैयौं पटक एक्लै काठमाडौं आइन् । यहाँका व्यस्त सडक र गल्ली नापिन् । उनले भनिन्, 'गाइड प्राज्ञ कृष्णबहादुर थापाले हौसलापूर्ण भाकामा नसम्झाएको भए, नसिकाएको भए कहाँ सकिन्थ्यो र ?' विद्यावारिधि सकेको दिन लक्ष्मीका आँखामा खुसीको आँशु टलपलाएको थियो । उनले भनिन्, 'अथाह हुटहुटीले मलाई सफल बनायो ।'
१५ वर्षयता निरन्तर भरतपुरको वीरेन्द्र क्याम्पसमा पढाइरहेकी लक्ष्मीलाई अझै पनि लाग्छ, मुल्तबीमा थुप्रै काम बाँकी छन् । दर्शनका कुरा मनग्गे पढेर सिद्धान्त लेख्ने रहर उनको मनमा पलाएको छ । १५ प्रतिशत मात्रै दृष्टि भएकी लक्ष्मीले सुनाइन्, 'नसक्ने मान्छेलाई झनै धेरै काम गर्न मन लाग्दो रछै ।' दृष्टिविहीन भए पनि उनी अरू सरजस्तै आत्मविश्वासका साथ पढाउँछिन् । उनलाई एउटै कुराको समस्या परेको थियो, वर्षौंसम्म । आफ्नो सबै काम आफैं गर्ने उनलाई कलेज पुगेपछि हाजिर गर्ने बेलामा सधैं अरूको सहयोग चाहिन्थ्यो । कसैले उनको कलमको निब हाजिर कापीमा अडाइदिएपछि उनी हस्ताक्षर गर्थिन् । लक्ष्मीले सुनाइन्, 'केही वर्षयता औंला राखेर गरिने सेन्सर हाजिर प्रणाली भए पनि त्यो समस्या नि हट्यो ।' साना जस्ता लाग्ने लक्ष्मीका यस्ता समस्या बुझेपछि उनको जीवन कसरी चलेको छ भन्ने बुझ्न सकिन्छ ।
दृष्टिविहीन भएर पनि लक्ष्मीसँग आत्मविश्वास उस्तै छ । पढ्ने र लेख्ने रहर झनै उस्तै छ । उनको रहर कतिसम्म छ भने, उनी आफुले स्कुल पढा लेखेका कापीहरूलाई जतन गरेर राखेकी छन् । त्यसैलाई सुम्सुमाएर चित्त बुझाउँछिन् । कहीलेकाहीं छामैकै भरमा कापीमा लेखेर सानी छोरीलाई देखाउँछिन् । सानी छोरीले भन्छे, मम्मी 'तपाईंको अक्षर बाँगाटिँगा छन् । कहीं खाली ठाउँ धेरै छ कहीं खजमजिएको छ ।' यत्ति भनेर छोरीले उनलाई स्केल दिन्छिन् र भन्छिन्, 'स्केलले डिका तान्दै र हरफ छोडने बेलामा अक्कल लगाउँदै लेख्नु ।'
स्कुल पढासम्म अक्षर चिन्न सक्ने भएकाले लक्ष्मीले ब्रेल लिपि सिक्ने लठारो गरिनन् । अहिले भने उनलाई ब्रेल सिक्नैपर्ने भएको छ । तर पनि अक्षरको सम्मोहनबाट उनी भाग्न सकेकी छैनन् । लक्ष्मीले सुनाइन्, 'पहिले पढेका अक्षर सम्भिmँदा अहिले पनि भावुक हुन्छु । आँखाले नदेखे पनि मनमा कुँदिएको अक्षरको प्रकृति उस्तै छ ।'
http://bit.ly/1RVtDd2
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment